मुगु। छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ।
हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कर्णाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रबार राति भत्किएको हो।
गत वर्षको चैतमा शिलान्यास भएको उक्त पुल पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुनुपर्नेमा भत्किएपछि निर्माण कार्य अझ पछि धकेलिएको छ।
बेलिब्रिज निमार्णका लागि जलब रवि चक्र जेवि निमार्ण कम्पनीले नगरपालिकासँँग सम्झौता गरि निर्माण कार्य तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो। पुल भत्किएपछि समयमा पूरा हुन नसक्ने कम्पनीले जनाएको छ।
भत्केको बेलिब्रिज जडान गर्न एक सातादेखि १२ दिन लाग्ने बताइएको छ । भत्केको बेलिब्रिजमा मानवीय क्षति भने भएको छैन । भत्केको बेलिब्रिज लाई ठड्याउन २ वटा मेसिन लगाइएको छ । पुलको बीचको भाग बाङ्गगिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नया भौतिक संरचना जडान गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
५ करोड २० लाख लागतमा बन्ने यो बेलिब्रिजको लम्वाई ५५ मिटर छ ।