काठमाडौं। खोटाङको जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ। वराहपोखरी गाउँपालिकाको बङ्सिलादेखि जन्तेढुंगाको देविस्थान, चिसापानी हुँदै खोटेहाङ गाउँपालिकासम्मको सडक कालोपत्रे हुने भएको हो।
एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा उक्त सडक कालोपत्रे हुने भएको छ। जिल्लाका विकटमध्येको एक मानिने जन्तेढुंगा गाउँपालिकामा सडकको ट्रयाक खोलिए पनि बर्खाको समयमा सवारी साधन ठप्प हुने गरेको छ। गाउँपालिकाको दुई वर्षदेखिको पहलमा सडक कालोपत्रे हुन लागेको बताइएको छ।
ट्रयाक खोलिसकिएको उक्त सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे हुने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। अबको एक महिनाभित्रमा ठेक्का प्रक्रिया टुंगिने र काम सुरु हुने जनाइएको छ। ४१ किलोमिटर सडक कालोपत्रेका लागि तीन अर्ब लागत अनुमान गरिएको छ।