काठमाडौं। सिद्धबाबा सुरुङमार्गको निर्माण अर्को महिनाबाट शुरु हुने भएको छ। निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिनादेखि शुरु हुने भएको हो।
सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ। वर्षेनी पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको बताइएको छ।
प्रक्रिया सबै टुङ्गाएर ठेक्कामा जान फागुन अन्तिम सम्ममा हुनसक्ने देखिएको बताइएको छ।
सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’ बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु अधिकांश सवारीसाधन सुरुङबाटै जाने उनले बताए।
निर्माण हुन लागेका संरचनामध्ये सुरुङको लम्बाइ एक हजार १२६ मिटर र बाटोको लम्बाइ जम्मा दुई दशमलव पाँच किमी हुन्छ । सरकारले यसका लागि १० अर्ब बजेट सुनिश्चित गरिसकेको छ । यसको जम्मा लगानी भने निर्माण कम्पनीले कति रकममा कबोल गर्छन् त्यसैका आधारमा मात्रै यकिन हुने केन्द्र्रले जनाएको छ । सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सो सुरुङले खासगरी सिद्धार्थ राजमार्गले समेट्ने गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बाग्लुङलगायत दर्जन बढी जिल्लावासीलाई सुविधा पुग्नेछ ।