काठमाडौं। दक्षिण अफ्रिकाबाट विमानको अघिल्लो पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका एक व्यक्ति जीवितै फेला परेका छन्। आइतबार दक्षिण अफ्रिकाको जोहनिसबर्गबाट उडेको कार्गोलक्सको मालवाहक विमानको नोज ह्वीलमा लुकेर बसेका व्यक्ति नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ परेका हुन्।
विमानको बाहिरी भागमा बसेर लामो यात्रा गर्दा पनि ती व्यक्ति जीवितै फेला पर्नुलाई अचम्म मानिएको छ। विमानको नोज ह्वील भएको भागमा जीवित फेला परेका उनलाई अस्पताल लगिएको छ जनाइएको छ। ती व्यक्तिको परिचय भने खुलिनसकेको प्रहरीले बताएको छ।
जोहनिसबर्गबाट एम्सटर्डमसम्म पुग्न सामान्यतया ११ घण्टा लाग्ने बताइन्छ। विमान माथि उड्दा अक्सिजनको कमी र चिसोले मानिसको मृत्यु हुनुपर्नेमा ती व्यक्ति जीवित हुनु आश्चर्यजनक भएको बताइएको छ।