धनुषा। मुखियापट्टी मुसरनियाँ गाउँपालिका–२ जमुनी खोलामा पुल बनाउँदा भारतीय प्रहरीले अवरोध गरेको छ। नेपाल–भारत सीमाभन्दा सय मिटर भित्र नेपाली भूमिमा पुल बनाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोक लगाएको हो।
एसएसबीले सम्पूर्ण कागजात लिएर गएको उपभोक्ता समितिले जनाएको छ। कागजात माथिल्लो निकायमा पेश गर्ने र माथिको आदेश आएपछि मात्रै पुल निर्माण हुन दिने भारतीय प्रहरीको भनाइ छ।
पुष पहिलो साता गाउँपालिका अध्यक्ष मनोज यादवले पुल शिलान्यास गरेका थिए। त्यसको अर्को साता भारतीय प्रहरीको एसएसबी टोली आएर काम रोक्न निर्देशन दिएको बताइएको छ । उपभोक्ता समितिको अनुसार किसानलाई आवजावतका लागि ३२ मिटर लामो झुलुङ्गे पुल निर्माण गर्न गाउँपालिकाले बजेट विनियोजन गरेको छ । करसहित ४९ लाखको लागतमा पुल निर्माण गर्ने उपभोक्ता समितिसँग पालिकाले सम्झौता गरेको छ ।
पुल निर्माण भएपछि मिथिला माध्यमिक परिक्रमाको गिरजा स्थान र फलुहर जोड्ने छन् । धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी प्रर्दशनी कुमारीले कुनै पक्षबाट उक्त विषयमा अधिकारिक जानकारी नआएको बताइन् । वास्तविक कुरा बुझेर मन्त्रालयमार्फत अगाडि बढ्ने उनको भनाइ छ । दुई देशको विषय भएको हुनाले गृह मन्त्रालयबाट समस्या समाधान हुने उनले जानकारी दिइन् ।
भारतीय प्रहरीले पुनः नबनाउने निर्देशन दियो भने कानुनी रुपमा अगाडि बढ्ने गाउँपालिकाले जनाएको छ।