काठमाण्डौं। सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ। खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो।
खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु परिवर्तनको असरलगायतका कारण पानीका स्रोत मुहान सुक्दै गएको र भूमिगत पानीको स्रोतको सतह पनि घट्दै गएकाले निकट भविष्यमै मूल फुटाऊ अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। वर्षाको पानी पोखरीलगायत ठूला–ठूला जलाशयमा संरक्षण कार्यक्रम सञ्चालन गरी हिउँदमा निरन्तर आपूर्तिको व्यवस्था गर्न यस्ता अभियान गर्न लागिएको बताइएको छ।
पानीको मुहान संरक्षणका लागि ओसिलो प्रदान गर्ने रुख, बिरुवासमेत रोपिनेछ भने मुहान क्षेत्रमा रहे–भएका रुख, बिरुवाको संरक्षण गर्ने नीति लिइने छ। मुलुकमा आधारभूत स्वच्छ खानेपानीमा ९४ प्रतिशत जनताको पहुँच स्थापित भएको तथा खानेपानीको गुणस्तर परीक्षणलाई राष्ट्रिय अभियानका रूपमा परिचालन गर्न आवश्यक परामर्श र तयारी सुरु गरिएको बताइएको छ।
हालै नारायणी, नवलपुर, भरतपुर र दाङमा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्री चौधरीले भने, “सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत कञ्चनपुरमा सिद्धनाथ–बैजनाथ आयोजना सम्पन्न भएको छ, थोक खानेपानी वितरण प्रणालीअन्तर्गत कर्णाली, सुनकोसी–मरिणको अध्ययन भइरहेको छ।