काठमाडौं। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्य–पहाडी) राजमार्ग निर्माणमा चरम ढिलासुस्ती देखिएको छ। आयोजनाको निर्माण सम्पन्न हुने अवधि करिब डेढ वर्ष मात्र बाँकी हुँदा पनि अझै ४० प्रतिशत बढी निर्माण कार्य बाँकी रहेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुल १८ सय ७९ मध्ये ६ सय ८५ किलोमिटर आयोजनाबाट र ४ सय ६२ किलोमिटर अन्य निकायबाट गरेर ११ सय ४७ किमी कालोपत्रे सम्पन्न भएको जनाएको छ। मन्त्रालयले १ सय ३७ पुलमध्ये ९१ वटा पुल सम्पन्न भएको जनाएको छ। मन्त्रालयका अनुसार ४ सय ९४ किमी सडक र २१ वटा पुल निर्माणाधीन अवस्थामा रहेका छन्।
आयोजनाको हालसम्मको भौतिक प्रगति ५९.४२ प्रतिशत मात्र रहेको छ। अझै दुई दर्जन पुल तथा करिब साढे २ सय किमी सडक ठेक्कासमेत लाग्न बाँकी रहेकाले अबको डेढ वर्षमा निर्माण कार्य सम्पन्न हुन नसक्ने देखिएको छ। आर्थिक वर्ष २०६४/६५ मा सुरु भएर आर्थिक वर्ष २०७९/८० मा सम्पन्न हुनुपर्ने आयोजनाको निर्माण कार्यमा भएको ढिलासुस्तीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न नहुने देखिएको हो।