सुर्खेत। विभन्न कारणले रोकिएको मंगलगढी–काँक्रेबिहार सडकको स्तरोन्नति शुरु गरिएको छ।स्थानीयको अवरोध, बन्दाबन्दीलगायत कारणले गत वर्षदेखि रोकिएको स्तरोन्नति कार्य पुन शुरु गरिएको हो।
स्तरोन्नति थालिएसँगै सडक क्षेत्रभित्रका ३६ घरटहराहरू भत्काइएका छन्। सडक क्षेत्रभित्रको मापदण्डमा पर्ने आंशिक र पूर्ण गरी ३६ घर भत्काइएको हो।
वडा कार्यालयको समन्वयपछि स्थानीयले सडक विस्तारका लागि घर भत्काउन सहमति दिएको बताइएको छ। घर भत्काइएपछि निर्माण कम्पनीले सडक फराकिलो पार्न तथा नाला बनाउन थालेको छ। साथै विद्युतका पोलहरू पनि सार्न थालिएको छ।
कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको यो सडक चालू आवमा ग्राभेल मात्र गर्ने योजना छ। सडक पूर्वाधार निर्देशनालयका अनुसार २५ मिटर चौडाई, दुई मिटर फुटपाथ क्षेत्र बनाइनेछ।
२०८० असार १५ गतेभित्र सडक स्तरोन्नति सक्ने गरी १२ करोड ७६ लाख १५ हजार रुपैयाँमा अमर सिस्ने नेपाल मेघा जेभीले ठेक्का लिएको छ।