इलाम। इलाम जिल्लाको माई नगरपालिकास्थित माईखोलामा झोलुंगे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
नगरपालिका–६ को बिहीबारे र वडा नम्बर १ को घण्टे जोड्ने ८२० मिटर लामो झोलुंगे पुलको काम सम्पन्न हुन लागेको हो।
पुलको काम सकिएर नगरपालिकालाई हस्तान्तरण गरेपछि सञ्चालनमा आउने बताइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट ८ करोड २० लाखमा पुलको निर्माण गरिएको छ।
थानी हिमशिखर जेभीले लक्ष्यभन्दा ६ महिनाअघि नै पुल बनाइसकेको स्थानीय पूर्वाधार विभागले जनाएको छ। सात वटा पिलरसहित निर्माण भएको यो पुलमा चार वटा टावर छन् । पुल निर्माणसँगै माई नगरपालिकासहित माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिकाका बासिन्दालाई पनि सहज हुने भएको छ ।