स्याङ्जा। स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–५ सेखाममा मोटर बाटो निर्माण भएको छ। खासा–घुर्पाल मोटर बाटो गत कात्तिक ३० गते निर्माण सम्पन्न भई माघ १९ गते औपचारिक रुपमा उद्घाटन गरिएको हो।
सडकको नगर प्रमुख शिव कुमार गिरीले उद्घाटन गरेका हुन्। खासा–घुर्पाल २ किलोमिटर सडक निर्माणका लागि गत भदौ ४ गते सम्झौता भई कात्तिक ३० गते सम्पन्न भएको निर्माण उपभोक्ता समिति अध्यक्ष धुर्व सिंह ठकुरीले बताए।

नगरपालिकाको पहलमा सडक बोर्ड नेपालको ४६ लाख बजेटमा सडक निर्माण भएको अध्यक्ष ठकुरीले जानकारी दिए। सडक निर्माण भएसँगै कच्चि बाटोमा जोखिम मोलेर हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उनकाे भनाइ छ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख गिरीले निर्माण समितिलाई समयमै गुणस्तरिय कार्य गरेकोमा धन्यवाद दिँदै नगरको विकास र संवृद्धिका लागि आफ्नो ठाउँबाट जुनै कदम पनि चाल्न पछि नपर्ने बताए।
उद्घाटन कार्यक्रममा नगरप्रमुख गिरीसहित, विभिन्न पार्टीका प्रतिनिधि, निर्माण समितिका सदस्यहरु, आमा समूह लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो।
सडक बनेसँगै स्थानीयबासी खुसी भएका छन्। एउटा जिप पनि मुस्किलले अट्ने कच्चि बाटोबाट थोरै चिप्लिए पनि भिरबाट तल खस्ने डर अब हट्ने भएको भन्दै स्थानियले खुसी व्यक्त गरेका हुन्।