सल्यान। जिल्लाको बागचौर नगरपालिका–५ सिर्पाका घर घरमा खानेपानीका धारा पुगेका छन्। खानेपानीका धारा पुगेसँगै यहाँका स्थानीय खुसीले दंग बनेका हुन्।
अव्यवस्थित रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गरिएको बताइएको छ। अव्यवस्थित सामुदायिक खानेपानीका धारा रहेको क्षेत्रमा घर घरमै धारा जडान भएपछि स्थानीयमा खुसियाली छाएको हो।
घरघरमा धारा आएपछि सामुदायिक धारामा पानी भर्न लाइनमा बस्नुपर्ने बाध्यता हटेको, समयको बचत र बालबालिकाले पानी ल्याउने समयमा पढ्ने अवसर पाएको स्थानीयले बताए।
७० घरधुरीलाई पाँचवटा मात्र सामुदायिक धारा भएको र ती धारा पनि व्यवस्थित नहुँदा सबैमा पानी आउने समस्या झेल्दै आइरहेका सिर्पाबासीका लागि एक घर एक घारा आएपछि निकै सहज भएको छ।
नेपाल जलवायु परिवर्तनको ४० लाख र जनश्रमदान १२ लाख ३१ हजार २ सय ४ रुपैयाँ गरी ५२ लाख ३१ हजार २ सय ४ रुपैयाँको लागतमा ७१ वटा धारा निर्माण गरिएको बताइएको छ। ७० घरमा एकघर एक धारा र एक धारा सार्वजनिकस्थलमा निर्माण गरिएको हो।