रूपन्देही। तिलोत्तमा नगरपालिकाको मंगलापुर–कान्छीबजार सडक निर्माण हुने भएको छ। विश्व बैंकको सहयोगमा शहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयूजीूआईपी) मार्फत् मंगलापुर–कान्छीबजारको निर्माण हुने भएको हो।
यस सडकको लागि नगरपालिकाले शुक्रवार ग्लोबल टेण्डर आह्वान गरेको छ । ग्लोबल टेण्डरबाट निर्माण हुन थालेको यो तिलोत्तमा नगरपालिकाको पहिलो विकास आयोजना हो । सडक निर्माणको लागि योग्यता पुगेका अन्तर्राष्ट्रिय निर्माण कम्पनी पनि टेण्डरमा सहभागी हुन पाउने छन् ।
ग्लोबल टेण्डरमा निर्माण कम्पनीहरूले सूचना प्रकाशित भएको ४५ दिनभित्र आवेदन गर्न सक्नेछन् । कार्य सम्झौताको दुई वर्षभित्र निर्माण सक्ने गरी तिलोत्तमा नगरपालिकाले टेण्डर आह्वान गरेको हो ।
अस्फाल्ट मेट्रियलको प्रयोग हुने यो सडक आयोजनाको कुल लागत ७९ करोड ५५ लाख रहेको नगरपालिकाले जनाएको छ। सडक निर्माणको क्रममा खानेपानी, विद्युत्, टेलिफोनका पोल व्यवस्थापनका सबै काम हुनेछन् ।