काठमाडौं। हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग सञ्चालनमा आएको छ । डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सञ्चालनमा आएका हुन् ।
भारी हिमपातका कारण बिहीबार अपराह्नदेखि अवरुद्ध रहेका यी दुवै राजमार्ग शुक्रबार दिउँसोपछि सञ्चालनमा आएका हुन्। सडक डिभिजन कार्यालयका चारवटा जेसिभी र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीको सहयोगमा राजमार्ग सञ्चालनमा ल्याइएका हुन् ।बन्द रहेका राजमार्ग खुलाउन बिहानैदेखि जेसिभी र सुरक्षाकर्मी परिचालन गरेका गरिएको थियो।
राजमार्ग खुलाउन तथा हिउँ सफा गर्न बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर रानासहितको सुरक्षाकर्मीको टोली खटिएको थियो । राजमार्ग सञ्चालनमा आएसँगै बीच बाटोमै रोकिएका सवारीसाधन र यात्रुहरु आआफ्नो गन्तव्यतर्फ लागेकाछन्।