मनाङ। मनाङमा हिमपातका कारण सडकसँगै टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिमात्र रोकिँदा जिल्लामा यातायात अवरुद्ध हुनुको साथै टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो।
बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ । दानाक्युसम्म सवारी आवागमन भइरहेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्रमा यातायात ठप्प छ।
मनाङमा बिहीबार र शुक्रबार वर्षकै ठूलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको भनाइ छ । मनाङको सदरमुकाम चामेमै तीन फिट बाक्लो हिउँ परेको छ । बाक्लो हिमपातले स्थानीयलाई आवतजावत गर्न समेत समस्या भएको छ ।
हिमपातले मानिस घरबाहिर निस्कन नसकेको र पदमार्ग बन्द भएको बताइएको छ । हिमपातका कारण मनाङको सदरमुकामसहित अन्य क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कसमेत अवरुद्ध छ । नासों गाउँपालिका ८, ताचैमाथिको मेरपान रिपिटर टावरको रेडियो लिङ्क बन्द भएको छ ।
हिमपात र हावाहुरीले तालदेखि चामेसम्मको अप्टिकल फाइबर पनि डाउन भएको नेपाल टेलीकम मनाङ शाखाका प्रमुख ङिमा ङिटु लामाले बताए । उनका अनुसार हिमपातले शुक्रबारदेखी मनाङमा इनटरनेट र टेलिकमको सेवा अवरुद्ध भएको छ ।