हेलम्बु। गृहमन्त्री बालकृष्ण खाँणले मेलम्ची खोलामा निर्माण भएको बेलिब्रिजको उद्घाटन गरेका छन् । नौ सातामा निर्माण भएको हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने पुलको गृहमन्त्री खाँणले उद्घाटन गरेका हुन्।
गत साउन १६ र १७ गते मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । उक्त पुल नेपाली सेनाले बनाएको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो । पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ ।
बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेर्होदै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्यसामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौंलगायत स्थानमा जान सजिलो भएको छ ।