सोलुखुम्बु। भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध भएको छ। गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो।
सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ। सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन पूर्णरुपले बन्द भएको बताइएको छ।
सडक खुलाउन सडक डिभिजन कार्यालय ओखलढुङ्गाले जेसिबीको प्रयोग गरे पनि सम्भव नभएको जनाइएको छ। स्थानीयवासीका अनुसार जेसिबीले सडकको हिउँ सोरेर सडक खुलाउने कोसिस गरे पनि शनिबारसम्म हिमपात नरोकिएकाले समस्या भएको हो।
यसका कारण बाहिरी जिल्लाबाट सोलुखुम्बुका लागि छुटेको सावरीसाधन ओखलढुङ्गाको ठाढे, टोड्के, विपलाटेलगायतका स्थानमा तीन दिनदेखि रोकिएका छन् भने सोलुखुम्बुबाट छुटेका केही सवारी सोलुदूधकुण्ड नगरपालिका–११ बेलिडाँडामा रोकिएका छन्।
सवारीसाधन गन्तव्यमा पुग्न नसक्दा सयौँ यात्रुको बिचल्लीमा परेका छन्। हिमपात भएको बेला सामान्य भए पनि यसपछिको सडक यात्रा जोखिमपूर्ण हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।