काठमाडौं। नेदरल्याण्डमा बेजोसको पानी जहाज छिराउन ऐतिहासिक पुल भत्काइँने भएको छ। रोटरडम नगर परिषदले सहरको ऐतिहासिक कोनिंग्सहेवन पुल भत्काउने निर्णय गरेको छ। नदीमा जेफ बेजोसको पानी जहाज यात्रालाई सहज बनाउन र जहाज छिराउनका लागि उक्त पुल भत्काउने निर्णय गरिएको हो।
नगर परिषदका प्रवक्ताले पुल भत्काउने कुराको पुष्टि गर्दै त्यसको पूरै खर्च बेजोसले व्यहोर्ने बताएका छन्। १ खर्ब ७५ अर्ब डलर सम्पत्तिका मालिक तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोस नेदरल्याण्डको भ्रमणमा जाँदैछन्।
बेजोसको यात्राका लागि तयार भैरहेको सुपरयाच निकै ठूलो आकारको छ। जसका कारण त्यो पानी जहाज उक्त ऐतिहासिक पुल मुनिबाट छिर्न सक्दैन। उक्त आलिशान सुपर याचको लम्बाई १२७ मिटर र उचाइँ ४० मिटर छ। नेदरल्याण्डको ओशनको कम्पनीले उक्त पानी जहाज बनाइरहेको छ।
स्थानीय भाषामा डी हेफे नामले चर्चित उक्त ऐतिहासिक पुलको बीचको भागलाई अस्थायी रुपमा भत्काइने भएको छ। स्टिलबाट बनेको उक्त पुल १ सय ४५ वर्षअघि अर्थात् सन् १८७७ मा निर्माण भएको हो। उक्त पुल रोटरडम सहरको पहिचान बनिसकेको छ र देशको धरोहरमा समेत सामेल छ।
अहिले जेफ बेजोसको पानी जहाज छिराउन सो ऐतिहासिक पुल भत्काउने नगर परिषदको निर्णयको मानिसहरुले व्यापक विरोध गरिरहेका छन्।