काठमाडौं। सर्लाहीको हरिवन–कौडेना सडक खाल्डैखाल्डा भएको छ। सडक कालोपत्र गरेको तीन वर्ष बित्न नपाउँदै खाल्डैखाल्डा भएको हो।
सडकमा दर्जनभन्दा बढी स्थानमा खाल्डा छन् । निर्माणमै लापरबाही गरेको ठेकेदार कम्पनीले मर्मतसमेत नगरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। उक्त सडक निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन कम्पनीले पाएको थियो। ठेक्का पाएको निर्माण कम्पनीले मर्मतका लागि तोकिएको समयअवधी भित्र नगरेको कारणले गुणस्तरहीन सडक बनेको स्थानीयले बताए।
कम्पनीले काम सकेको ६ महिनामै खाल्डैखाल्डा बनेको सडकमा अहिले हिड्न सक्ने अवस्था छैन। दुर्घटनाको जोखिम बढ्दो छ। कालोपत्र उप्किएर बनेको हिलाम्मे सडक पैदल पार गर्न सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ। सम्बन्धित निकायको उदासीनताले सडकको दुरवस्था भएको बताउँदै यस क्षेत्रका नागरिक मारमा परिरहेको बताइएको छ।
निर्माण कम्पनीले २०७५ जेठ ६ मा काम सक्ने गरी ०७३ वैशाख २२ मा सडक निर्माण सुरु गरेको थियो। समयमा काम नसकेपछि पटकपटक गरी एक वर्षभन्दा बढी म्याद थप गरिएको थियो। थपिएको समयमा पनि ३० किलोमिटरको सडकमा कालोपत्र पूरा हुनसकेको थिएन। विश्व बैंकको सहयोगमा बनाइएको सडक करिब २१ किमि कालोपत्र भएपछि दाताले हात झिकेको थियो। बाँकी ९ किमि अझै निर्माण हुन सकेको छैन।