कञ्चनपुर। भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत सडक निर्माणको काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ। निर्माण पूरा गर्नुपर्ने सम्झौता अवधि सकिन ५ महिना मात्र बाँकी हुँदा जम्मा २७ प्रतिशत काम सम्पन्न भएको छ।
सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले ढिलाइ गर्दा योजनाको भौतिक प्रगति कम देखिएको नगरपालिकाले जनाएको छ।
सडक निर्माणका लागि डेढ वर्षअघि जेडआईईसी–लामा जेभीसँग ठेक्का सम्झौता गरिएको थियो।
क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत भीमदत्तमा ६ ओटा सडक निर्माण भइरहेको छ, जसमा भाँसी–रौटेला सडक, नापी कार्यालय हुँदै वन कार्यालय जोड्ने सडक, ट्राफिक चोक–अस्पताल, भगतपुर सडक, भानुचोकदेखि मदनचोक, एयरपोर्ट रोड, आँखा अस्पताल हुँदै पार्क जोड्ने सडक, निम्बुखेडा जाने सडक र आदर्श टोल सडक योजना रहेका छन् ।
आयोजना अन्तर्गत १४ किलोमिटर सडक निर्माण हुनेछ । यस्तै भीमदत्त नगरक्षेत्रमा २७ किलोमिटर फुटपाथ र २२ किलोमिटर ढल निर्माण गरिनेछ । कोरोना महामारीका कारणले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। नेपालमा कामदार नपाउने र भारतबाट ल्याउन कोरोनाका कारण समस्या भएकाले पनि काममा केही ढिलो हुन पुगेको निर्माण कम्पनीले जनाएको छ।