काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले हिजो सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन्।
उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।
सरकारले गत वर्ष सदरकुकाम खलङ्गा–तिंकर सडक खण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो। सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम सुरु गरेको छ। विसं २०६५।६६ देखि निर्माण सुरु गरिएको उक्त सडक खण्ड कञ्चनपुरको ब्रह्देव देखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो।
दार्चुलामा रहेको गुरुगोरख गुल्मले महाकाली नगरपालिका–५ खेटबोकेमा थालेको तीन महिने नेपाली सेनाको तालिमको सम्पन्न भएसँगै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा गएका हुन्।