काठमाडौं। प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले राष्ट्रिय गौरवका आयोजनामा आर्थिक अभाव हुन दिनु नहुने बताएका छन्। प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सुनुवारले ठूला आयोजनामा आर्थिक अभाव हुन दिनु नहुने बताएका हुन्।
राष्ट्रिय गौरवका आयोजनाका साथसाथै निर्माणको अन्तिम चरणमा पुगेका सडकहरुलाई निर्माण सम्पन्न गर्नका लागि अर्थमन्त्रालयमा समन्वय संयन्त्र निर्माण गर्नुपर्ने उनले बताए।
साना साना कमिकमजोरीका कारण निर्माण सम्पन्न हुन लागेका सडक निर्माणमा ढिलाई हुन नदिन सम्बन्धित मन्त्रालयले ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ।
प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले ठूला आयोजनाहरुलाई निर्माणका क्रममा आर्थिक लगायतका समस्या हुन नदिनका लागि मास्टरप्लान बनाउँदा नै विचार पुर्याउनुपर्ने बताए।
सम्भावित् समस्या तथा अवरोधहरुको अध्ययन गरेर मात्रै टेण्डर आव्हान गर्नसके पछि समस्या नपर्ने उनले उल्लेख गरे। उनले नेपालमा राजमार्गहरु बनाउँदा मास्टरप्लान नबनाउने गरेकाले समस्या देखा पर्ने गरेको दाबी गरे।