डोटी। डोटी जिल्लाको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीमा ८ वर्षमा पनि पुल निर्माणको काम सकिएको छैन। तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको पुलको काम ८ वर्षमा २० प्रतिशत मात्र पूरा भएको हो।
विसं २०७४ असार २९ गते काम सम्पन्न गर्ने गरी विसं २०७१ मा पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौता भएको ८ वर्षमा पुलको हालसम्म २० प्रतिशतमात्रै काम सम्पन्न भएको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कुलपातेले जनाएको छ ।
तीनवर्षे पहिलो ठेक्का सम्झौता अवधि सकिएर चार पटक म्यादसमेत थप भइसक्दा पनि काम सम्पन्न भएको छैन। लामो समयसम्म पनि पुल नबन्दा स्थानीय आक्रोशित बनेका छन्।
सम्झौताअनुसार ठेक्काको अन्तिम म्याद २०७८ चैत मसान्तसम्म छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु २६ करोड २० लाख लागतमा पुल निर्माण शुरु गरिएको थियो। निर्माण कम्पनीले कोरोना सङ्क्रमणका कारण कामदार नपाएको भन्दै बहना बनाउँदा काम सञ्चालन हुनसकेको छैन ।
डिभिजन सडक कार्यालयका अनुसार पुल निर्माणको जिम्मा पाएको पुष्प–राजेन्द्र जेभी कम्पनीले हालसम्म रु तीन करोड २१ लाख भुक्तानी लिइसकेको छ ।