काठमाडौं। डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा मोटरेबल पुल निर्माण सुरु भएको आठ वर्ष भएको छ। पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै काम सम्पन्न भएको हो।
उक्त पुल तीन वर्षभित्र बनाइसक्ने गरि सम्झौता भएको थियो, तर ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै सम्पन्न भएको छ।
विसं २०४९ सालमा निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसँग जोड्ने उक्त पुल निर्माण गर्न विसं २०७१ साल असार २९ गते सम्झौता भएको थियो। चार पटक म्याद समेत थप भइसक्दा समेत काम सम्पन्न नभएको भन्दै यहाँका नागरिकहरु आक्रोसित बनेका छन्।
तीन सय २० मिटर लामो उक्त पुल मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुने भनिएको थियो। त्यसको लागि डिभिजन सडक कार्यालय कुलपाते दिपायलले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता पनि गरेको थियो। ठेकेदारले कोरोनाको सङ्क्रमणका कारण कामदार नपाएको भन्दै बहाना बनाउँदा बाँकी काम सुरु हुन नसकेको बताइएको छ।
पुल निर्माण होला र राजमार्गसँग जोडिउला भन्ने हाम्रा सपना सबै खरानी भए, पुल बन्ने छाटकाट छैन भन्दै स्थानीय निरास भएका छन्।