सुर्खेत। दुई वटा प्रदेश जोड्ने पुल निर्माणले तिव्रता पाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने कर्णाली नदीमाथिका दुईवटा पुलको निर्माणकार्यले तिव्रता पाएको हो।
५५० मिटर लामो चिप्लेघाटको पुलको काम करिब ७० प्रतिशत र ३५० मिटर लामो कुइनेघाटको पुल करिब ९० प्रतिशत सकिएको हो। पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१० घाटगाउँको चिप्लेघाट र पञ्चपुरी नगरपालिका–११ को कुइनेघाटदेखि कैलालीको मोहन्याल गाउँपालिका–७ सँग जोड्ने दुई पुलको निर्माण भइरहेको छ। दुबै पुलको निर्माण यसै आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गरी सक्ने गरी अनक।लुम्बिनी जेभीले पाएको छ।
निर्माण कम्पनीले तोकिएको समयअवधिमानै काम सम्पन्न गर्ने बताएको छ। पुल सञ्चालनमा आएपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको सम्बन्ध सिधा जोडिनेछ भने दूरी पनि घट्नेछ। अहिले सुदूरपश्चिम प्रदेश जानका लागि सुर्खेतदेखि कोहलपुर हुँदै कर्णाली चिसापानी पुग्नुपर्छ। पुल बन्दा चौकुनेदेखि चिसापानीको दूरी बढीमा ११ किमि हुनेछ।
दुवै पुलको काम तीव्र गतिमा भइरहेको हुँदा तोकिएको अवधिभित्र निर्माण सम्पन्न गरी दुई प्रदेश जोडिने आशा गरिएको छ। दुवै पुल निर्माण भए दुवै प्रदेशको सिधा सम्पर्क बढ्नुका साथै व्यापार र विकासको ढोका खोल्नेमा त्यस क्षेत्रका बासिन्दा आशावादी छन्। दुबै पुल निर्माण भएसँगै कर्णाली र सुदूरपश्चिम प्रदेश जोड्ने विकासको ढोका भएको बताइएको छ।