काठमाडौं। उत्तरी रसुवास्थित थुमन दालगाउँ सडक सञ्जालसँग जोडिएको छ। गाउँलाई सडक सञ्जालसँग जोड्न यहाँ निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले सहयोग गरेको हो।
आयोजना प्रभावित क्षेत्रभित्र बसोबास गर्ने बासिन्दालाई सडक मार्गको सुविधा पुर्याई उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्यले पाँच किलोमिटर सडक निर्माण गरिएको बताइएको छ।
भिरालो जमिन भएका कारण वातावरणीय पक्षलाई विशेष ध्यान दिँदै आयोजनाको आफ्नै उपकरणले सडकको ट्रयाक खुलाएको थियो। अहिले गाउँमा हल्का सवारी साधन पुगेपछि स्थानीय बासिन्दा अत्यन्तै हर्षित भएका छन्।
उक्त सडकले गोसाइँकुण्ड गाउँपालिका–१ दालगाउँका ४६ घर परिवारलाई यातायातको पहुँच पुर्याएको स्थानीयले बताएका छन्। सो आयोजनाले गोसाइँकुण्ड –१ कै थुमनगाउँमा बसोबास गर्ने करिब ४०० घरपरिवारलाई समेत यातायातको पहुँच पुर्याउने काम सम्पन्न गरिसकेको छ।
गाउँ सडकसञ्जालसँग जोडिएपछि बिरामी अस्पताल लान, खाद्य सामग्री ल्याउन, समयअनुसार थुमनमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्र पुर्याउन सजिलो भएको स्थानीयको भनाइ छ।