हुम्ला। खार्पु–ताखुलेक सडकको भित्तर गौडा खण्डमा निर्माण कार्य शुरु भएको छ। निर्माणका लागि सम्झौता भएको १५ महिनापछि यहाँ चट्टान विष्फोटन कार्य शुरु भएको हो।
पूर्वाधार विकास कार्यालयले खार्पुदेखि ताकुलेक सडकको खार्पुदेखि ग्याग्रुसम्म सडक निर्माणका लागि ०७६ साल भदौ ५ गते स्वच्छन्द निर्माण कम्पनीसंग सम्झौता गरेको थियो।
विष्फोटक पदार्थ खरिदका लागि सेनासँग लामो प्रक्रिया लागेका कारण चट्टानी भीरको निर्माण कार्य ढिलो भएको बताइएको छ। कार्यालयका अनुसार कुल ७.३२ किमि सडकखण्डमध्ये ४ सय मिटर कडा चट्टान छ।
चट्टानी क्षेत्रबाहेक अन्य क्षेत्रको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भएको थियो। कार्यालयलाई विष्फोटक पदार्थ प्राप्त हुनेबित्तिकै निर्माण कम्पनीलाई जिम्मा लगाएर सेनाकै उपस्थितिमा विष्फोट गर्ने कार्य शुरु भएको हो।