काठमाण्डौं। निर्माण नसकिँदै भासिएको कमला नदीको पुल लामो समयसम्म पुनःनिर्माण भएको छैन। तराई–मधेशको लाईफ लाइनकैरुपमा रहेको हुलाकी सडकअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीको पुल भासिएको र पुनःनिर्माण नहुँदा स्थानीय समस्यामा परेका हुन्।
निर्माण सम्पन्न नहुँदै गत असार ३१ गते आएको बाढीले भासिएको उक्त पुल भासिएको थियो। भासिएको पुल पुनःनिर्माण नहुँदाँ निकै सास्ती भइरहेको भन्दै स्थानीयवासीले तत्काल पुनःनिर्माणको माग गरेका छन्।
ठेकेदार कम्पनीको लापरबाहीका कारण भासिएको पुल पुनःनिर्माण काम अझै सुरु हुननसकेको बताइएको छ। सुख्खायाममा जेनतेन दुईपाङ्ग्रे सवारी साधन चल्ने गरे पनि हल्का वर्षामा पनि पैदलयात्रुलाई समेत हिँड्डुल गर्न समस्या भइरहेको स्थानीयको गुनासो छ।
उक्त पुलको पहिला पूर्वतर्फको स्पर भासिएको थियो। त्यसको केही दिनपछि पश्चिमतर्फको स्पर पनि भासिएको थियो। भासिएकामध्ये पुर्वतर्फको स्पर कामै नलाग्ने अवस्था छ। जसका कारण मोटरसाइकललाई समेत पुलबाट वारपार गर्न ठूलै समस्या भइरहेको छ।
कूल ४७० मिटर लामो पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का लिएको थियो। करिब ३५ प्रतिशत काम सकाएको पप्पुले घाटा लाग्ने अवस्था देखेपछि हात झिक्दा लुम्बिनी बिल्डर्सले बाँकी काम गरेको हो। पुल ४२ महिनामा निर्माण हुनुपर्नेमा झण्डै १० वर्षपछि मात्रै निर्माण पूरा भएको थियो। हस्तान्तर नहुँदै भासिएपछि सो क्षेत्रका स्थानीयवासी निराश बनेका छन्।