काठमाडौं। कोटेश्वर–जडिबुटी सडक विस्तारको काम एक वर्षपछि पूरा भएको छ। अल्पकालीन योजनाअन्तर्गत डेडिकेटेड लेन बनाउनका लागि सडक विस्तारको काम थालेको एक वर्षमा सडक कालोपत्रे गरिएको हो।
सरकारले कोटेश्वर–जडिबुटी सडक खण्डको दायाँ–बायाँ दुवैतर्फ सडकको विस्तार कार्य गत असार मसान्तभित्रै सक्ने गरी अघि बढाएको थियो। सडक निर्माणको काम एक वर्षपछि लगभग सकिएको सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सुप्रिम सुँडालले जानकारी दिए।
सरकारले कोटेश्वर–जडिबुटी सडकमा देखिएको दैनिक जाम समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेको हो। इन्जिनियर सुँडालका अनुसार अब फुटपाथमा फिनिसिङको काम बाँकी छ। भक्तपुर हुँदै पेप्सीकोलाबाट बालकुमारीतर्फ जाने र कोटेश्वरबाट उत्तरतर्फ जाने डेडिकेटेड लाइन तयार भएको छ।
यो योजनाका लागि तुन्दी सुसन जेभी निर्माण कम्पनीसँग ७ करोड ८१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। दुई लेन पेप्सीकोला र दुई लेन ललितपुर जाने सवारीका लागि प्रयोग हुने र बीचका चार लेन सिधै कोटेश्वर–जडिबुटी हुँदै भक्तपुरतर्फ जाने गरी निर्माण गरिएको छ।
योसँगै बालकुमारी पुलतर्फ र ललिपुरबाट भक्तपुरतर्फ जाने सवारी साधन अब कोटेश्वर र जडीबुटीको जाम सामना नगरी गन्तव्यमा जान सक्ने भएका छन्।
तर उत्तरीतर्फ भने रातो घरको मुआब्जा विवाद बाँकी नै रहेको छ। सरकारले यो सडकको समस्यालाई समाधान गर्न दीर्घकालीन योजनालाई अघि सारेको धेरै भइसकेको छ। यो योजनाका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा सुरुङमार्ग निर्माण गर्ने गरी अध्ययन गरिरहेको छ।