मोरङ। भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नितिन गड्करीले जोगबनी नाकामा भारततर्फको पुल एक महिनामा सञ्चालनमा आउने बताएका छन्। जोगबनी नाकाबाट आयात–निर्यात सहज बनाउन भारततर्फको नयाँ पुल सञ्चालनका लागि मातहतका निकायलाई निर्देशन दिएको गड्करीले बताएका हुन्।
मीरगञ्जस्थित पुल क्षतिग्रस्त भएपछि जोगबनी नाकाबाट आयात निर्यात प्रभावित हुँदै आएको छ । मोरङ व्यापार संघले उक्त पुलको विकल्पमा नजिकैको निर्माणाधीन पुल सञ्चालनमा ल्याउन आग्रह गर्दै आएको थियो ।
बथनाहा–जोगबनी सडक खण्डमा पर्ने उक्त पुल सञ्चालनमा आएपछि आयात निर्यात सहज हुने भएको छ ।
पुल सञ्चालनका लागि संघले नेपाल र भारतका प्रधानमन्त्री, मन्त्रीहरू साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको थियो। जोगबनी नाका हुँदै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगका लागि कच्चापदार्थ साथै अन्य सामान आयात हुने गरेको छ ।
यसैगरी नेपालबाट निर्यात हुने सामान उक्त नाका हुँदै पठाइने गरिएको छ । पुल क्षतिग्रस्त भएर ढुवानीका साधन जान नसक्दा भीमनगर–भण्टाबारी नाका हुँदै आयात निर्यात गर्ने गरिएको थियो ।