काठमाडौं। एसियाली विकास बैंक (एडीबी) का राष्ट्रिय निर्देशक आर्नो कोस्वाले नारायणगढ–बुटवल सडक अनुगमन गरेका छन्। सडक निर्माणमा ढिलाइ भएको गुनासो आएसँगै निर्देशक कोस्वाले स्थलगत अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा उनले सडक निर्माण र विस्तार कार्यमा ढिलाइ भए स्वीकार्य नहुने बताएका छन्। उनले भने, ‘अब ढिलाइ स्वीकार्य हुँदैन । आयोजनामा संलग्न सबैले यो रणनीतिक सडक सञ्जाललाई तोकिएको समयमा सम्पन्न गर्नुपर्छ। सडक निर्माण र मर्मतसम्भार कार्यले पछिल्ला महिनामा गति लिएको छ । यसले अझै तीव्रता पाउनुपर्छ।’
निर्देशक कोस्वाले वर्षाका कारण क्षतिग्रस्त बनेका पुल अर्को वर्षा आउनुअघि नै बनाइसक्न आग्रह गरेका छन् । सासेक सडक सुधार आयोजना (एसआरआईपी) अन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माण तथा स्तरोन्नति सकिएपछि नेपालको अर्थतन्त्रलाई समेत लाभ हुने उनले बताएका छन् ।