काठमाडौं। फागुन १ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर उठेको छैन। पासाङल्हामु राजमार्गका स्थानीयवासीले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भएको हो।
फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयवासीले अवरोध गरेका छन्।
स्थानीयको अवरोधसँगै पाँच दिनदेखि फोहोर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहोर थुप्रिएको छ। काठमाडौं महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गर्न र स्थानीयवासीलाई अवरोध हटाइदिन माग गरेको छ।
२०७० सालदेखि सुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयवासीले आन्दोलन गर्ने गरेका छन्। जसले गर्दा फोहोर विसर्जनमा अवरोध हुने गरेको छ।
सडक बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक–पटक रोकिँदा गाली कामपाले खाने गरेको छ। बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको कामपाको भनाइ छ।