दोलखा। दोलखाको मुडे चरिकोट सडक खण्डमा हप्ताको तीन दिन गाडी आवागमन बन्द गरिने भएको छ। लामो समयदेखि अलपत्र परेको मुडे चरिकोट सडक खण्ड निर्माणको क्रममा बन्द गरिने भएको हो।
सडक कालोपत्रे गर्नका लागि विभिन्न ठाउँबाट एकैसाथ निर्माणको काम भइरहेको हुँदा गाडीलाई समस्या हुने र निर्माण कार्यमा समस्या हुने भएपछि प्रत्येक हप्ताको तीन दिन गाडी बन्द गरिने भएको हो। मङ्गलवार, बुधवार र बिहीवार १० बजेदेखि दिउँसो ३ बजेसम्म गाडी आवागमन बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलखबहादुर आलेले बताए।
जिल्ला प्रशासन कार्यालय दोलखामा निर्माण कम्पनी, सरोकार पक्ष, राजनीतिक दल तथा सुरक्षा निकायको बीचमा भएको छलफलमा सडक तीव्र गतिमा निर्माण गर्नुपर्ने बाध्यता रहेको र दिउँसोको समयमा गाडी आवागमन रोक्ने निर्णय भएको हुँदा यस समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आलेले गाडी चालकलाई आग्रह गरे ।
निर्माणको जिम्मा लिएर ६ वर्षदेखि अलपत्र रहेको मुडे चरिकोट सडक नागरिकको चर्को विरोधपश्चात अहिले धमाधम निर्माण भइरहेको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी ३० किलोमिटर सडक निर्माणको जिम्मा दिएको कम्पनीले ६ वर्ष बितिसक्दा पनि निर्माण कार्य बीचमा नै छोडी अलपत्र पारेपछि जिल्लावासीले चर्को विरोध गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो ।