काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरबासीलाई आफ्नो घरको फोहोर आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ। फागुन १ गतेदेखि उपत्यकाको फोहोर उठ्न नसकेपछि महानगरले शनिबार सार्वजनिक सूचना जारी गरेर यस्तो अपिल गरेको हो।
एक सातादेखि फोहोर उठ्न नसकेपछि काठमाडौं महानगरका चोकचोक दुर्गन्धित बन्न थालेका छन् । महानगरको वातावरण विभागले आज सूचना जारी गरेर घरबाट निस्कने फोहोरलाई आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ।
जारी सूचनामा भनिएको छ, ‘हाललाई सम्पूर्ण उपत्यकाबासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नहुन अनुरोध गरिन्छ ।’ नकुहिने फोहोर पनि सडकमा जथाभावी नफाल्न र फोहोर लिन आउने गाडीमा राखेर पठाउन भनिएको छ ।
उपत्यकाको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ । तर,मडखु–तीनपिप्ले सडकखण्ड कालोपत्र हुनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध गरेपछि १ फागुनदेखि फोहोर ढुवानीमा अवरोध भएको महानगरले जनाएको छ।