दार्चुला। महाकाली नगरपालिका–५ गल्फै धौलीगाडमा पुल निर्माणको काम अलपत्र परेको छ। महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्डको धौलीगाड खोलामा साढे सात वर्षदेखि पुल निर्माण अलपत्र परेको हो ।
धौलीगाडमा जमिनको मुआब्जा वितरणमा ढिलाई हुँदा पुल निर्माण बीचमै रोकिएको हो । पुल निर्माणका लागि सडक डिभिजन कार्यालय पाटन बैतडीले ३० असार ०७१ आशिस कन्स्ट्रक्सन धनगढीसँग सम्झौता गरेको थियो । दुई करोड ३२ लाख सात हजार रुपैयाँ लागतमा पुलको ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पुल निर्माण सुरु गरी एकपट्टी पिलर गाडेपछि स्थानीयले मुआब्जाको विषयमा विवाद गरे । त्यसयता पुल निर्माण अघि बढेको छैन ।
०७० सालको बाढीपछि यस क्षेत्रमा जमिनको मूल्य अकासिएको थियो । मुआब्जा निर्धारण समितिले निर्धारण गरेकोभन्दा कम मुआब्जा दिएको भन्दै स्थानीयले विरोध गरेका थिए । पुल निर्माणस्थलको पाँच आना जमिनका धनीले सरकारले निर्धारण गरेको मूल्यभन्दा कम मुआब्जा दिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरे । सर्वोच्च अदालतले जग्गाको पुनः मूल्यांकन गर्न आदेश दियो ।
सडक डिभिजन पाटन बैतडीका कार्यालय प्रमुख इन्जिनियर रमेश चौधरीका अनुसार अहिले यो पाँच आनाको मूल्यांकन ७३ लाख रुपैयाँ पर्छ । मुआब्जा रकम दिन मन्त्रालयले बजेट दिएको छैन ।