काठमाडौं। सम्झौता अनुसार काम नगरेको भन्दै सघन शहरी तथा भवन निर्माण आयोजना झापाले निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको छ। आयोजनाले दी कञ्चनजंघा कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई सात दिनभित्र कारणसहित उपस्थित हुन निर्देशन दिएको हो।
आयोजनाले सूचना निकालेर निर्धारित अवधिमै काम पूरा गर्ने स्पष्ट, भरपर्दो कार्ययोजना भए वा अन्य कुनै उचित कारण भए सात दिनभित्र जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो।
आयोजनाले निर्माण कम्पनीका संचालक स्वयमले आयोजनामा सम्पर्क राख्न भनिएको छ। अन्यथा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौता बमोजिम कार्य सम्पादन जमानत खिचि ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ। साथै स्थानीयस्तर तथा नेपाल सरकारमा पर्न गएको नोक्सानी असुलउपर गरिने उल्लेख छ।
२०७६ फागुन १६ गते आयोजना र कम्पनीबीच २ वर्षमा काम सक्ने गरी सम्झौता भएको थियो। अर्जुनधारा नगरपालिकामा बुट्टाबारीदेखि सालबारी स्कुलहुँदै कालिस्थान जाने बाटो र मंगलमणिमार्गदेखि धाइजन जाने बाटो निर्माणको ठेक्का सम्झौता भएको हो। समयमा काम नसकिएपछि एक वर्ष थप गरिएको समय समेत सकिन लाग्दा पनि काम भने अघि बढेको छैन।