काठमाडौं। बागमती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ। बागमती सफाइ महाअभियानको ४५८औँ हप्तामा बागमती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको हो।
फोहोर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी बताउँछन्। विगत केही दिनदेखि काठमाडौं महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्दा सडक किनार, चोकमा फोहर थुप्रिएको छ । फोहरका कारण राजधानी काठमाडौं दुर्गन्धित बन्न थालेको छ ।
बागमती मनोहरा दोभानको सफाइमा नेपाली सिने जगतका कलाकार पुजा शर्मा, पल शाह, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, काठमाडौं महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, स्थानीयवासी, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न सङ्घसंस्थाको सक्रियता रहेको थियो ।
बागमती सफाइका क्रममा माला खरेल एवं दुर्गा रावलको जन्मदिनको उपलक्ष्यमा नदी किनारमा वृक्षरोपण गरिएको थियो । सफाइ अभियानकर्मीको जन्मदिन परेका दिन नदी किनारमा वृक्षरोपण गर्ने गरिएको छ ।
अर्को हप्ता शनिबार पनि बागमती मनोहरा दोभानमै बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म सफाइ गरिने जनाइएको छ ।