काठमाडौं। सीतापाइला–धार्के सडकको सबै खण्ड कालोपत्रे हुने भएको छ । नागढुंगा–नौबिसे सडकखण्डको विकल्प मानिएको सीतापाइला–धार्के सडकको सबै खण्ड कालोपत्रे हुने भएको हो।
यो सडकको ठेक्का लाग्न बाँकी खण्डका लागि सडक विभागले ५५ करोडको स्रोत सुनिश्चित गरेको छ । विभागले यसअघि नै सितपाइला र धार्के दुवैतर्फबाट ठेक्का लगाएर विस्तारको काम सुरु गरिरकेको छ । तर, बीचको करिब १० किलोमिटर खण्डको ठेक्का लाग्न सकेको थिएन ।
सडक विभागका प्रवक्ता शिव नेपालका अनुसार अर्थमन्त्रालयले स्रोत सुनिश्चित गरेको सुनिएको तर पत्र प्राप्त नभइसकेको बताए । स्रोत सुनिश्चित भएर काम अघि बढाएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने साना सवारीलाई सहज विकल्प तयार हुने बताइएको छ।
यो सडक सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा जोडिन्छ । अहिले धार्केबाट कलंकी पुग्न २५ किलोमिटरकै दूरी छ । दुई लेनको हुन लागेको धार्के–सीतापाइला सडक पनि कुल २४ किलोमिटरको छ ।
यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुवेत सरकारले तयार पारेको हो । झण्डै १५ करोड खर्चिएर डीपीआर तयार गरिएको थियो ।
सडकलाई स्तरीय बनाउन झण्डै साढे २ अर्ब खर्च लाग्ने प्रतिवेदनमा उल्लेख छ । यो सडकको ट्र्याक पुरानो नै हो । यो सडकलाई दुई लेनमा विस्तार गरेर सवारी आवत–जावत सहज गराउने योजना अनुसार काम हुन लागेको छ ।