नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने प्रदेश सडक निर्माण हुने भएको छ। नवलपुरको बौदिकाली गाउँपालिकाको डेढगाउँदेखि हुप्सेकोट गाउँपालिकाको झ्यालबाससम्म १४ किमी सडक निर्माण गर्न लागिएको हो ।
नवलपुरमा निर्माण गर्न लागिएको यो सडक तनहुँको भिमाद–मानपुर–फुला सडकखण्डसँग जोडिनेछ । सोही मार्गबाट खैरेनी हुँदै पोखरासँग जोडिने भएकालेसमेत नवलपुरका लागि यो सडक आयोजनाको विशेष महत्वको रहेको बताइएको छ । यो आयोजना निर्माण भएपछि प्रदेशको राजधानीसँग जोडिने छोटो मार्ग बन्नेछ ।
यो सडक पहाडी क्षेत्रको विकासको आधारसमेत मानिएको छ । पहाडी क्षेत्रका गाउँलाई जिल्लाको सदरमुकामदेखि प्रदेशको राजधानीसँग जोड्ने भएकाले पहाडी क्षेत्रको विकासको आधारका रुपमा हेरिएको हो ।
५१ करोडको लागतमा उक्त सडक निर्माण हुन हो । सडक पूर्वपश्चिम राजमार्गसँग जोडिने यो सडक झ्यालबासदेखि डण्डा र झ्यालबासदेखि चोरमारासम्म यसअघि नै निर्माण भइसकेको छ ।