चितवन। भरतपुर महानगरको ढोडेनीमा खानेपानी आयोजना निर्माण गरिएको छ। खानेपानी अभाव झेलिरहेको भरतपुर–२९ ढोडेनीमा आयोजना निर्माण सम्पन्न भएको हो।
१ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको खानेपानी आयोजनाको महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरेका छन्।
संघीय सरकारको १ करोड, भरतपुर महानगरको ३५ लाख रुपैयाँ लागतमा जनसहभागितामा निर्माण गरिएको योजनाबाट ८३ परिवार लाभान्वित भएका छन् । सोही वडामा चौकीडाँडा खानेपानी योजना समेत निर्माणको अन्तिम चरणमा छ ।
उद्घाटनका क्रममा महानगर प्रमुख दाहालले वडा नम्बर २९ को खानेपानी समस्या अब सधैँका अन्त्य भएको भन्दै खुसी व्यक्त गरिन् । उनले ढोडेनी र चौकीडाँडा खानेपानी योजनाबाट वडावासी लाभान्वित भएको बताइन् । उपप्रमुख शाहले जनप्रतिनिधि आएसँगै खानेपानीलाई प्रमुख प्रथामिकतामा राख्दै काम गरिएको दाबी गरिन् ।
यसअघि यहाँका स्थानीय ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य थिए । गाउँमा बारीमा तरकारी लगाउन पनि सम्भव थिएन । अहिले ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्यांकीमा तानेर घरघरमा वितरण गरिएको छ ।