जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ४ प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने सडक निर्माण हुने भएको छ। २ करोड ६० लाख लागतमा प्याकुरेबाडा–मुडुरी, गोठीगाउँ हुँदै डोल्पा जोड्ने सडक निर्माण हुने भएको हो।
सडकको गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सडक शिलान्यास गरेका छन् । डोल्पामा सडक विस्तार गर्न दुहिया भीर फुटाल्नुपर्ने अध्यक्ष भण्डारीले बताए । उनले भने, ‘गाउँपालिकाको सबैतिरबाट डोल्पा जोड्न सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ । यसले डोल्पा, जुम्लाको व्यापारिक सम्बन्धलाई बलियो बनाउनेछ ।’
सडक निर्माण गर्न गुठीचौर गाउँपालिकाको १ करोड ३० लाख तथा कर्णाली प्रदेशको समपूरक बजेटबाट १ करोड ३० रुपैयाँ विनियोजन भएको अध्यक्ष भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीले सडकको गुणस्तर र मापदण्डको विषयमा ख्याल पुर्याउन आग्रह गरे ।
सडक शिलान्यास गर्न गुठीचौर वडा नम्बर ४ का वडाध्यक्ष जग्गीप्रसाद जैसी, प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटा, सब–इन्जिनियर मीमबहादुर भण्डारी, योजना शाखा प्रमुख विष्णुप्रसाद देवकोटा, स्थानीयलगायत सहभागी थिए । यो सडक निर्माणपछि डोल्पा छिटोछरितो हुनेछ ।