रुकुम। पुथाउत्तरगंगा–१४ र सिस्ने गाउँपालिका–२ नायगाड सडकखण्डमा सडक निर्माण गर्न ब्लास्टिङ गरे चट्टान फुटाए पनि निर्माणले गति लिन भने सकेको छैन। कडा चट्टानका कारण निर्माणाधीन जामाबगर–नायगाड सडकखण्डमा ठेकेदारले ब्लास्टिङ गरेर सडक खनिरहेको हो।
रुकुमकोट–बालुवा–देउखोला–नायगाड–जामाबगर अन्तर्गतको रुकुमपूर्वको दक्षिण र उत्तरी भेगका लागि उक्त सडक नै मुख्य नाका हो। जसमध्ये ४ वर्षअघि दक्षिणतर्फ रुकुमकोटदेखि देउखोलासम्म सडक पुगिसकेको छ भने उत्तरी खण्डबाट नाखादेखि जामाबगरसम्म पनि सडक पुगेको छ।
कडा पहरोले दक्षिणतर्फको देउखोला र उत्तरतर्फको जामाबगरदेखि न उत्तरतर्फ न त दक्षिणतर्फ नै सडक निर्माणले गति लिन सकेको छ। सडक खन्न पिएच/शंकरमाली निर्माण सेवाले ठेक्का लिएको छ। एक वर्ष डोजरले सडक खन्ने प्रयास गरिएको थियो, त्यसबाट सम्भव नभएपछि पहिलो पटक २०७७ जेठमा पहरो फुटाउन ब्लास्टिङ गरेर सडक खनिरहेको ठेकेदार कम्पनीले जानेको छ। तर, पनि कडा पहराकै कारण कामले गति लिन नसकेको बताइएको छ।
देउखोला र जामाबगर जोड्न सडक निर्माण थालेको ४ वर्षमा पनि कामको प्रगति जहाँको त्यँहि रहेको छ। सडक खन्न ढिला हुँदा स्थानीय समस्यामा परेको बताउछन्। ठेकेदारले भने कडा पहराकै कारण सडक खन्न ढिलो भइरहेको दाबी गरिराखेको छ।