चितवन। निर्माणाधीन अवस्थामा रहेका नारायणगढ सडकखण्डका पुल निर्माणका लागि बजेट अभाव भएको छ । पुल निर्माणका लागि आवश्यक पर्ने बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको हो।
मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि फराकिलो बनाएसँगै पुल पनि फराकिलो बनाउने काम सुरु भएको दुई वर्ष पनि बितिसक्यो । सो सडकखण्डमा १९ वटा पुल छन् । तीमध्ये चार वटा पुल निर्माणको काम सडकसँगै सकिसकेको छ । बाँकी १५ वटा पुल निर्माणका लागि विसं २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।
सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलहरुको भौतिक प्रगति औसतमा भन्दा ५० प्रतिशत भएको आयोजनाले जनाएको छ। आठ वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ। अब ती पुललाई सडकसँग जोड्नमात्र बाँकी छ । सडकसँग जोड्नका लागि घर टहरा भत्काउनुपर्ने हुन्छ । घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताइएको छ।
पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब रु एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थमन्त्रालयमा पत्र पठाइएको आयोजनाले जनाएको छ । मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ वटा पुलमध्ये तीन वटा पुलको काम अझै सुरु भएको छैन् ।