काठमाडौं। दुई वटा प्रदेश जोड्ने पक्की पुल निर्माण तिव्र गतिमा अगाडी बढेको छ। गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कार्य तीव्र गतिमा अगाडी बढेको हो।
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने पक्की पुलको कामलाई गति दिइएको छ। कोरोना कहरका कारण विगतमा काममा ढिलासुस्ती भए पनि अहिले कामलाई तीव्र पारिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्षले जानकारी दिए। हालसम्मको पुलको काम ३७ प्रतिशत सकिएको छ।
दुई सय १० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौँस्थित शर्मा जेभी एण्ड युनाइटेड विल्डर्सले पाएको छ। उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो। पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ।
डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फत् निर्माण भइरहेको छ। यहाँ पुल निर्माण सुरु भएपछि स्थानीयवासी पनि खुसी छन्। पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पथ्र्यो। पुल निर्माण भएपछि सहजरुपमा आवातजावात गर्न सकिन्छ।