काठमाडौं । १० अर्ब लागतमा स्पेनमा लुम्बिनी गार्डेन बनाइने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको एक्स्त्रेमादुरा प्रदेशको क्याथेरेस शहरमा लुम्बिनी गार्डेन बनाउन लागेको हो ।
फाउन्डेसनको लुम्बिनी गार्डेन बनाउने योजनाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन् । फाउन्डेसनका पदाधिकारीले बिहीबार शीतलनिवासमा भेटवार्ता गर्दै फाउन्डेसनका गतिविधिबारे राष्ट्रपति समक्ष जानकारी गराएका छन् ।
फाउन्डेसनले नेपाल र विशेष गरी लुम्बिनीको सेरोफेरोमा गर्न खोजेका कामहरु लगायत विविध गतिविधिबारेमा राष्ट्रपतिलाई जानकारी दिएको छ । । राष्ट्रपतिसँग भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद सुर्य पाठक, फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा, उपाध्यक्ष गोविन्द सुबेदीलगायतको उपस्थिति रहेको थियो।