काठमाडौं। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासी–नारायणचोक हुलाकी सडकको तीन पटक म्याद थप गर्दा पनि निर्माण पूरा नहुने भएको छ। निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाएको हो।
तेस्रोपटक थपिएको म्यादसमेत गुज्रन लाग्दा हुलाकी सडक अधुरै छ। आगामी चैत मसान्तभित्र म्याद सकिँदैछ । निर्माणकार्य धेरै बाँकी रहेकाले तोकिएको समयमा सम्पन्न हुनेमा स्थानीयवासी विश्वस्त छैनन् ।
कञ्चनजङ्गा–बिरुवा शिवशक्ति जेभी कन्स्ट्रक्शनले निर्माणको जिम्मा पाएको उक्त सडक १३ किलोमिटर दूरीको छ । विसं २०७३ मा ठेक्का भई निर्माण सुरु भएको यो सडक दुई वर्षभित्र सम्पन्न भइसक्नुपर्ने थियो । तर निर्माण कम्पनीले नदीजन्य पदार्थको अभाव, कोरोना महामारीलगायतका कारण देखाउँदै ढिलासुस्ती गर्दै आएको छ ।
सुरुमा सडक डिभिजन कार्यालय बुटवलअन्तर्गत ठेक्का भए पनि पछिल्लो दुई वर्षदेखि यो सडक हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुलाई हस्तान्तरण भएपछि मात्र कामले तीव्रता पाएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रञ्जनकुमार ठाकुर बताउँछन् । सुरुमा सडक डिभिजनसँग समन्वय अभावले काम गर्न नसकिएको, कोरोना महामारी र चिसो मौसम तथा पानी परेका बेला कालोपत्र गर्न नमिल्ने भएकाले पनि केही ढिला भएको उनको भनाइ छ ।