काठमाडौं। गुणस्तरहीन सडक बनेको भन्दै विर्तामोड नगरपालिकाका नगर प्रमुखले कालोपत्रे गरेको सडक भत्काएका छन्। विर्तामोड नगरपालिकाका नगर प्रमुर ध्रुवकुमार सिवाकोटी आफैं लागेर कालोपत्रे सडक भत्काएका हुन्।
मापदण्डविपरीत सडक निर्माण भएको भन्दै वडा नम्बर ८ को प्रगतिनगर शंखरवाडी टोल जाने कालोपत्र सडक डोजर लगाएर भत्काएको बताइएको छ। नगरप्रमुख शिवाकोटीले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन कालोपत्रे सडक बनाएको भन्दै सडक भत्काएको जनाइएको छ।
उक्त सडक कालोपत्र गर्न इलामको सिद्विथुम्का निर्माण सेवा प्रालिले १३ लाख ८५ हजार ३ सय १२ रुपैयाँमा ठेक्का लिएको थियो। सडक २५० मिटर लम्बाइ, २० फुट चौडा रहेको बताइएको छ। ठेक्का सम्झौता अनुसार २०७९ असार २ गतेसम्ममा सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो।