काठमाडौं। दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालयमा खानेपानीको समस्या भएको छ। पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल बनेको हो।
शौचालय जानेसमेत पानी पाइँदैन। विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन। सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो। त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन। नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालयसम्म पु¥याउन सकिएको अवस्था छैन।
विद्यालय परिसरमा एउटा गैरसरकारी सस्थाले धारा जडान गरेको छ, तर यसमा पानी आउदैन। खोलाबाट पानी ल्याउनकै लागि विद्यालयले केही गाग्रीहरूसमेत किनेको छ। यही खोलाबाट विद्यार्थीले पानी बोकेर प्रयोग गर्ने गर्छन्। विडम्बना त के छ भने विद्यार्थीले त्यही खोलाको पानी प्रयोग गर्छन्। गाउँका मान्छेले पनि खोलामा बगिरहेको त्यही पानी प्रयोग गर्ने गरेका छन्।
विद्यार्थी खोलाको दूषित पानी पिउन बाध्य रहेको जनाउँदै यसमा समयमै ध्यान दिनुपर्ने विद्यालयका प्रधानाध्यापकले बताए। दूषित पानी खाँदा विद्यार्थीलाई असर गर्न सक्ने जनाउँदै यसमा सचेत हुुनुपर्ने उनको भनाइ थियो।