हेटौँडा। निर्माण सम्झौता भएको १० वर्ष ८ महिना बितिसक्दा पनि मकवानपुर र सिन्धुली जोड्ने पक्की पुल सञ्चालनमा आउन सकेको छैन। मदन भण्डारी लोकमार्ग अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ जोड्ने पुलको निर्माण पूर्ण रुपमा सम्पन्न नहुँदा सञ्चालनमा आउन नसकेको हो।
उक्त पुलको ठेक्का २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवा निर्माण कम्पनीले तत्कालिन धरान–चतरा–सिन्धुली–हेटौँडा सडक आयोजना (हाल मदन भण्डारी लोकमार्ग सडक आयोजना) सँग लिएको थियो। पाँच वर्ष भित्रमा सम्पन्न गरि सक्ने गरी २३ करोड ५३ लाख ९ हजार रुपैयाँ लागतमा निर्माणको ठेक्का लिएको थियो।
५ वर्षको अवधिसम्म पनि पुल बन्न नसकेपछि पाँच पटक म्याद थपेर कम्पनीले बल्ल पुल निर्माण अन्तिम चरणमा पुर्याएको छ। अझै पुलसम्म पुग्ने सडक निर्माणको काम भने बाँकी नै छ। उक्त पुलको लम्बाइ ४ सय १३ मिटर र चौडाई ७ दशमलव ७० मिटर रहेको छ।
पुल निर्माण सम्पन्न हुन नसक्दा आलोचनामा परेपछि वाग्मती प्रदेश सरकारले कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको थियो। त्यसपछि मात्रै कम्पनीका ठेकेदार सम्पर्कमा आएका थिए।
काम पूरा नभएपछि पुनः पुल निर्माणका लागि २०७८ चैत ३० गतेसम्मको म्याद थप गरिएको छ। निर्माण कम्पनीले निर्माणको काम अन्तिम चरणमा पुगेको र बैशाख १५ गतेभित्र नेपाल सरकारलाई हस्तान्तरण गरिसक्ने बताएको छ।
पुल नबन्दा विगतमा स्थानीयले निकै सास्ती भोग्नु परेको र वर्षाको समयमा खोलाले बगाएर केही व्यक्तिले ज्यान समेत गुमाएको स्थानीयहरुले गुनासो पोखे।