काठमाडौं। काभ्रेको धुलिखेल नगरपालिकाले चार वर्ष पाँच महिनाको अवधिमा ३४ किलोमिटर सडक कालोपत्रे गरेको छ। स्थानीय तहको निर्वाचन अगाडि १२.५ किलोमिटर मात्र कालोपत्रे रहेको धुलिखेलमा अहिले ४६.५ किलोमिटरमा कालोपत्रे सडक पुगेको हो।
धुलिखेल नगरपालिकाकाका अनुसार नगरपालिकाका १२ वटै वडामा कालोपत्रे पु¥याउन काम भइरहेको छ। यस अवधिमा पाँच किलोमिटर सडक ढलान, ७१ किलोमिटर सडक ग्राभेल र ३२० किलोमिटर माटे सडक निर्माण भएको छ।
धुलिखेल नगरपालिकाले पक्की नाली ३० किलोमिटर र कच्ची नाली ३१० किलोमिटरसहित ३४० किलोमिटर नाली निर्माण गरेको जनाएको छ। तीन स्वास्थ्य चौकी र १७ विद्यालयका २४ भवन साढे चार वर्षमा निर्माण भएको छ।
धुलिखेल नगरलाई समुन्नत आर्थिक सहरका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल मैदान, सबै विद्यालयलाई डिजिटल प्रविधि, निरपेक्ष गरिबीमुक्त नगर, शतप्रतिशत घरमा शुद्ध खानेपानी, एक घर एक महिला उद्यमी, उज्यालो सहर, सुकुम्बासी र छुवाछूत मुक्त नगर तथा स्वस्थ सहरको अवधारणा ल्याइएको बताइएको छ।