काठमाडौं। खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन्। उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको बताएका हुन्।
सरकारले यसअघिनै मेलम्चीको पानी यसै वर्षको चैत मसान्तभित्र काठमाडौं उपत्यकामा वितरण गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। न्यूनतम महसुलमा सर्वसुलभ किसिमले उपभोक्ताले स्तरीय पानीको उपभोग गर्न पाउने भन्ने चाहना सरकारको रहेको बताइएको छ।
अहिले खानेपानी संस्थानले मुलुकको २३ वटा मुख्य सहरमा सेवा प्रदान गर्दै आएको छ। दिगो विकास लक्ष्य, सन् २०३० पूरा गर्नमा समेत खानेपानी स्थानले ठूलो भूमिका निर्वाह गर्न सक्ने मन्त्री चौधरीको धारणा छ।